शिव गौतमराष्ट्रिय जनावर के राख्ने ?
अहिले राष्ट्रिय जनावर गाई नै यथावत राख्ने या फेर्ने भन्ने बिषयमा मुद्धा पेचिलो बन्दै गएको छ । देश धर्म निरपेक्ष भईसकेको अवस्थामा कुनै प्राणी कसैको नैसर्गिक आहार हो भने त्यसलाई राष्ट्रिय जनावर मानेर खानेहरुको अधिकार चलाखीपूर्ण तरीकाले मेट्नु हुँदैन भन्नु जायज हो, बहुधर्म, बहुजाती भएको देशमा कसैको आहारलाई कानूनी रुपमा प्रतिबन्धित गर्नु हुँदैन । २०५१ सालमा स्वास्थ्यमन्त्री रहेका पद्म रत्न तुलाधरले मानव अधिकारको हवाला दिदै यदि कुनै धर्म वा जातले गाई खान खोज्छ भने पाउनुपर्छ भन्दा देशभर हँगामा मच्चिएको थियो, यो घटना अतिरन्जित गरियो भन्दा बनकालीमा प्रधानमन्त्री मनमोहन अधिकारी माथि कुर्सी प्रहार पनि भयो । कानूनले बन्देज लगाए पनि धेरै पहिलेदेखि नै गाइ गोरु काटिएका छन । गौमाताको रुपमा पूजा गर्ने हिन्दू धर्मालम्बीले पनि यदाकदा खाने गरेको सुनिन्थ्यो, अहिले लाखौंँ लाख नेपालीहरु देश बाहिर छन जहाँ गाइको मासु मूख्य आहार छ, कतिपयले नखाएका होलान कसैले खाएका होलान ।
गाईलाई विवादित बिषय बनाएर धार्मिक र साम्प्रादायिक झगडा निम्त्याउनु देशको लागि राम्रो होइन, मौलिक हक ज्यान भन्दा प्यारो हुन्छ, भोलीका दिनमा यसैलाई बहाना बनाएर दँगा होला । गोरखामा एउटा गाई काट्दा प्रहरीको गोलीले एक जना नागरिकको ज्यान गयो, तुरुन्त पाँच गाई काटिए, धार्मिक बिद्रोह खतरनाक हुन्छ, गल्ती गर्ने भन्दा निर्दोषहरु निशानामा पर्छन ।
गाईलाई लक्ष्मी माता मानेर पूजा गर्ने छुट पनि हुन्छ, खाने छुट पनि हुनु पर्छ । गाईलाई मार्नै हुँदैन भन्नेहरुले सडकमा खुट्टा भाँचिएर, खान नपाएर, बूढो भएर लत्रिएकाहरुलाई पनि ध्यान दिनु पर्छ, त्यो दुःख देख्नु पाप हो या पूण्य हो, ? खाइने जनावरले त्यो भुक्तान ब्यहोर्नु पर्दैन । यसलाई मूख्य आहार बनाउने देशमा लाखौंँ लाख गाई पालिएका छन, मारेर सकिदैन पाल्न छाडेर सकिन्छन, हिजोका दिनमा जँगलबाट छोपेर ल्याइएका गाईहरु सीमित थिए, गुण पत्ता लगाएपछि लोप हुने डरले नमार्नु भनियो तर अहिलेको अवस्था त्यो छैन । कुनै पनि महत्वको बिषयलाई पाप र धर्मको नाममा जोगाउने जमानामा पिपलको गुण पत्ता लाग्यो जसले सबभन्दा धेरै प्राण वायु (अक्सिजन) दिन्छ, त्यसलाई भगवान बिष्णुको रुप भनियो ताकि कसैले नकाटोस, नमासोस, तुलसीको गुण पत्ता लागेपछि त्यसलाई पनि भगवानको रुप दिएर पुज्न थालियो, दुबोलाई त्यस्तै महत्व दिइयो, यी कुराहरु जोगाउने माध्यम थिए । अहिलेको पुस्ता विश्वाश होइन, बिचार गर्छ । भारतमा हिन्दू मन्दिरहरु छन, पीठहरु छन तर गाई मारिन्छन, नखानेलाई वा पूजा गर्नेलाई जबरजस्त गरेको सुनिदैन । जुन कुरामा प्रतिबन्ध लाग्छ त्यो बिद्रोहको कारण बन्छ । राष्ट्रिय जनावरको रुपमा सिँह राख्न सकिन्छ, गैँडा राख्न सकिन्छ । कसैले बाख्रोलाई राष्ट्रिय जनावर् मानौ भन्यो भने आपत्ति हुन्छ कि हुँदैन ? अहिले देश बनाउनेतिर जानु परेको छ, एउटा पशुको विवादमा अल्मलिने समय होइन यो । हामी मुस्लिम,जनजातीलाई गाई खान दिदैनौ, दलितलाई अछुत भन्छौँ भने नागरिक समानताको परिभाषा के हो ? अनि भड्किदैन साम्प्रादायिक दँगा ? असमानताले बिद्रोह उत्पन्न गर्छ । मैले सुनेको छु, कुनै जात रातमा गाईको दाम्लो काटेर कुलायन पूजा गर्छ, कुनै जात रातमा जनै लगाएर पूजा गर्छ, दाम्लो काट्ने जातको पुर्खाले गाई खान्थ्यो तर उसका सन्तानले खान पाएनन, पुर्खाको पूजा दाम्लो काटेर गर्न थाले, जनै लगाउने जातको जनै खोसियो तर उसको सन्तानले परम्परा छोड्न सकेन रातमा जनै लगाएर पुर्खाको पूजा गर्न थाल्यो, जो दाम्लो काट्न वाध्य छन, तीनलाई गोरु काट्न दिउँ, जो रातमा लुकेर जनै लगाउन वाध्य छन तीनलाई बैदिक बिधि अनुसार ब्रतबन्ध गर्न दिउँ, संबिधानको आडमा देश र जनता माथि अर्घेल्याइँ नगरौँ ।

No comments:
Post a Comment